जनता टाइम्स

१६ माघ २०७६, बिहीबार ११:१३

ललितपुरको साउनामा नुहाउन छिरेका दम्पत्तिको निसास्सिएर मृत्यु


काठमाडौं, माघ १६

ललितपुरस्थित एक स्वास्थ्य क्लबको बाथरुममा नुहाउने क्रममा निसास्सिएर दम्पत्तिको मृत्यु भएको छ । साउना (तातो आउने विशेष व्यवस्था भएको)मा छिरेका उनिहरु बेहोस अवस्थामा भेटिएका थिए ।

ललितपुर महानगरीय प्रहरी परिसरका अनुसार तिखेदेवलस्थित फिट एन्ड फाइन एरोबिक क्लबको साउनामा नुहाउने क्रममा ४२ वर्षीय हस्त गर्बुजामगर र उनकी श्रीमती ३९ वर्षीया नेत्रकुमारीको मृत्यु भएको हो । प्रहरीका अनुसार हस्त गर्बुजामगर पूर्वमहिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाका स्वकीय सचिव (पीए) भएको बताइएको छ । साउनामा नुहाउँदा निश्चित समयमा निस्किनुपर्ने हुन्छ ।

उनीहरू बुधबार राति सो क्लबमा गएका थिए र साउनामा नुहाउन पसेका थिए । धैरैबेर ननिस्केपछि बाथरुमको ढोका खोलेर हेर्दा उनीहरू बेहोस भेटिएका थिए । तत्काल उद्धार गरी पाटन अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको थियो ।