जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १४:०८

नेकपा केन्द्रीय कमिटी बैठकमा समुहगत छलफल सुरु : पन्ध्र समूहले यी स्थानमा गर्दैछन प्रतिवेदनमाथि छलफल


काठमाडौं, माघ १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज १५ समूहले राजनीतिक प्रतिवेदनमा छलफल अघि बढाएका छन ।

बुधबारदेखि सुरु भएको बैठकको दोस्रो दिन विहीबार आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदनमा १५ समुह बिभाजन गरी छलफल अघि बढाइएको हो । छलफललाई सहज बनाउन केन्द्रीय सदस्यहरुलाई विभिन्न १५ वटा समूहमा विभाजन गरिएको छ । नेकपा केन्द्रीय कार्यलय सचिव इश्वरी रिजालका अनुसार समुह एकदेखि ८ नम्बरसम्मलाई राष्ट्रियसभा गृहमा छलफलको लागि व्यवस्था गरिएको छ ।

यसैगरी ९ देखि ११ नम्वर समूहले पार्टी कार्यालय पेरिसडाँडा तोकिएको छ भने १२ देखि १५ नम्वर समूहलाई पार्टी कार्यालय धुम्बाहारहीमा बसेर छलफल गर्ने स्थान तय गरिएको छ । सवै समुहले आफ्नो छलफल अघि बढाइसकेका छन । १५ वटै समूहमा सचिवालयका सदस्यहरुले भने भाग लिनुभएको छैन । सचिवालयमा पारित गरी प्रतिवेदन अध्यक्षद्वयको तर्फबाट प्रस्तुत भएकोले सचिवालय सदस्यहरुले भाग नलिनुभएको हो । पहिलो पटक पार्टी एकताको अनुमोदन गर्न बसेपछि नेकपाको केन्द्रीय कमिटी बैठक यो पहिलो हो ।

बैठकमा सातै प्रदेशका संयोजकले आ–आफ्नो प्रदेश कमिटीको सांगाठानिक प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ । बैठकमा तय भएको नौ बुँदे कार्यविधि अनुसार एक केन्द्रीय सदस्यले विचार राख्नका लागि १० मिनेटको समय पाउनेछन । बैठकमा १७ र १८ गते समूहको लिखित प्रतिवेदन प्रस्तुत, १९ गते निष्कर्षसहित प्रतिवेदन प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यक्रम रहेको छ । यस्तै माघ १९ गते नै समसामयिक प्रस्ताव छलफल हुने कार्यक्रम रहेको छ ।