जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १५:१२

राष्ट्रिय लक्ष्य प्राप्तीमा दृढतापूर्वक अघि बढन सकेमा मात्रै सहीदप्रति सच्चा सम्मान : मन्त्री गुरुङ


काठमाडौं, माघ १६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्ने दिशामा लाग्नु नै सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको छ । शहिद दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले सो भनाई राख्नुभएको हो ।

मन्त्री गुरुङले सहिद दिवसको यस अवसरमा पछाडि परेका÷पारिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलगायतका समाजका सबै क्षेत्रको हितमा केन्द्रित भई काम गर्न म सम्बद्ध सबै पक्षलाई हार्दिक आह्वान गर्नुभएको छ ।

यस्तो छ मन्त्री गुरुङको शुभकामना

सर्वप्रथम देश र जनताका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान सहीदहरु शुक्रराज शाष्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्दलगायतका सम्पूर्ण ज्ञात/अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र’लाई सुदृढ बनाउँदै ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न सहीद दिवसले सबैलाई मन, बचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । सामाजिक न्याय र समानतासहितको समृद्धि राष्ट्रिय लक्ष्य हो । यो लक्ष्य प्राप्तीका लागि दृढतापूर्वक अघि बढन सकेमा मात्रै सहीदहरुप्रति सच्चा सम्मान हुने मैले विश्वास लिएको छु ।

अन्तमा, सहिद दिवसको यस अवसरमा पछाडि परेका/पारिएका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलगायतका समाजका सबै क्षेत्रको हितमा केन्द्रित भई काम गर्न म सम्बद्ध सबै पक्षलाई हार्दिक आह्वान गर्दछु ।
धन्यवाद ।
२०७६ माघ १६ गते, बिहीबार