जनता टाइम्स

१६ माघ २०७६, बिहीबार २०:१२

सर्वाेच्चले दियो अख्यितारका सचिव न्यौपानेलाई १५ दिनभित्र उपस्थित हुन आदेश, यस्तो छ कारण


काठमाडौं, माघ १६ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एक मुद्दाको फाइलसहितको अभिलेख १५ दिनभित्र लिएर उपस्थित हुन आदेश जारी गरेको छ ।

न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको पूर्ण इजलासले आज अख्तियारका सचिव न्यौपानेलाई मुद्दाको अभिलेखसहित आफै इजलासमा उपस्थित हुन आदेश जारी गरेको हो । अदालतले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेखसहित माग गरेको हो ।

आदेशमा भनिएको छ, “कागजात अभिलेख खोजी गरी पेश गर्न १५ दिनको समय प्राप्त हुने गरी यो मुद्दामा पेशी तोक्नु र सो पेशीका दिन आयोगका सचिव स्वयम् निर्णय फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रुपमा उपस्थित हुनु ।” सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने आदेशमा उल्लेख छ ।