जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार ०७:२९

कोरोना भाइरस: विश्वव्यापी स्वास्थ्य आपतकालीन अवस्था को घोषणा, सचेत रहन आग्रह


काठमाडौं, माघ १७ । कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

चीनमा अहिलेसम्म २ सय १३ जनाको ज्यान लिइसकेको कोरोना भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भैसकेको डब्ल्यूएचओले जनाएको छ ।

धेरैजसो सङ्क्रमण चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा देखिए पनि जर्मनी, जापान, भियतनाम र अमेरिकामा मान्छेबाट मान्छेमा सरेर सङ्क्रमण भएका आठ वटा घटना देखिएकोले बढी सचेतना आवश्यक रहेको बताइएको छ ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भैरहेको छ भन्दा पनि अरु देशमा के भैरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओ का प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । वुहानमा पुष्टि भएका ४ हजार २ सय २५ जनामा गरिएको अध्ययनअनुसार सङ्क्रमण हुनेको औसत उमेर ५९ वर्ष रहेको छ भने ८९ प्रतिशत मानिस सङ्क्रमण भएको कम्तीमा पाँच दिनपछि मात्र अस्पताल गएका छन् ।

सङ्क्रमण हुनेमध्ये ५६ प्रतिशत पुरुष थिए । ५५ प्रतिशत सङ्क्रमण समुद्री खानाबाट आएको थियो । डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।