काठमाडौं, १७ माघ । ‘यस्तो छ कारागारमा महराको दैनिकी’ शीर्षक दिएर नागरिकले पूर्वसभामुख कृष्णबहादुर महराको कारागार दैनिकी उतारेको छ । नागरिकका अनुसार गत कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ । अहिलेसम्म उनलाई भेट्न १० हजार बढी आफन्त र कार्यकर्ता पुगेको कारागारको भनाइ छ । तर उनलाई सामान्य कार्यकर्ता र आफन्तबाहेक भीआईपी भने जाँदैनन् ।
‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेता नेताहरू आइरहेका,’ कारागारका एक कर्मचारीले नागरिकसँग भनेका छन्, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’
त्यसो त महरा आफैं पनि सञ्चारकर्मी र कर्मचारीसँग भेट्न अनिच्छुक छन् । कारागार चलान भएलगत्तैदेखि उनले कर्मचारीसँग पत्रकार आए भेट्न नदिनू भनेको नागरिक समाचारमा उल्लेख छ ।
सन्चोबिसन्चो सोध्ने कर्मचारीलाई उनले ठीक छ भनेर टाउको हल्लाउने गरेका छन् । समाचार अनुसार महराको दायाँ बाया २५र३० जना कैदी छन् । तर उनी ती कैदीहरूसँग पनि खासै बोल्दैनन् ।
कारागारका जेलर अरुण पोख्रेलका अनुसार महरालाई भेट्न आउने राजनीतिक नेताभन्दा कार्यकर्ता बढी छन्। महरा जेलमा बसेको तीन महिना बित्न लाग्दा उनलाई भेट्न १० हजारभन्दा बढी आगन्तुक पुगिसकेका छन्। कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ। उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन्। एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चाररपाँच फन्को मार्छन्। लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन्। उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ। बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन्। १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन्। कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन्।
कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन्। दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन्। त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन्। साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन्। महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन्। उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन्। बेलुकी ९ बजे उनको सुत्ने समय हो।
प्रतिक्रिया दिनुहोस्