जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १२:५९

टिपरले किचेर महिलाको मृत्यु भएपछि स्थानीयले गरे २६ वटा टिपरमा तोडफोड र आगजनी


गोरखा, माघ १७ । गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन । गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएपछि आगजनी गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई आज बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले किचेको थियो । तामाङको मृत्यु भएपछि सयौँजनाको संख्यामा आएका आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका हुन भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।