जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १६:४७

राप्रपा र राप्रपा संयुक्तबीच एकता गर्ने सहमति, यसरी हुँदैछ केन्द्रीय समिति र नेतृत्वको भागबण्डा


काठमाडौं, माघ १७ । पार्टी बिभाजनको अढाई वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूहबीच एकीकरण हुने भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच बिहीबार अपरान्ह भएको बैठकमा पार्टी एकीकरण गर्ने सहमति जुटेको हो ।

पार्टी एकीकरण हुने निश्चित भएसँगै राप्रपा अध्यक्ष थापाले आज केन्द्रीय समिति बैठकमा प्रतिबेदन पेश गरेलगत्तै स्थगित भएको छ । एकीकरणका बिषयमा छिट्टै औपचारिक घोषणा हुने जानकारी दुवै पार्टीका नेताहरुले दिएका छन् । बिहीवारको वार्तामा थापा, राणा र लोहनीबीच एकीकरणको मोडालिटीमा सहमति भएको थियो । जसअनुसार पार्टीमा थापा, राणा र लोहनी अध्यक्ष हुनेछन । केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र संयुक्तबाट ४५ प्रतिशत रहनेछन । पार्टीको पछिल्लो महाधिवेशनको विधानमा केन्द्रीय समिति एक सय ६३ जना रहने व्यवस्था छ ।

यसैगरी पार्टीको चुनाब चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउने सहमती भएको छ । अहिले राप्रपाको चुनाब चिन्ह गाई र राप्रपा संयुक्तको हलो छ । पार्टीको नीति, विचार र सिद्धान्तको हकमा हकमा भने पार्टीको पछिल्लो महाधिवेशनको विधान लागू गर्न तीनै नेता सहमत भएका छन् । ६ फागुन २०७३ मा राप्रपा समूहहरुको एकता महाधिवेशन भएको थियो भने संसदीय निर्वाचनभन्दा अघि २२ भदौ २०७४ मा पार्टी विभाजित भएको थियो । एक शीर्ष नेताका अनुसार शुक्रबार बैठक चलिरहेका बेला संयुक्तका अध्यक्ष राणाले थापालाई टेलिफोन गरी बैठक स्थगित गर्न आग्रह गरेपछि थापाले प्रतिवेदन पेश गरी बैठक स्थगित गर्नुभएको हो ।

थापाले पार्टी एकता नभए राप्रपा महाधिवेशनमा जाने र पार्टी एकताको च्याप्टर तत्कालका लागि बन्द हुने अडान राख्नुभएको थियो । राप्रपा संयुक्तले पनि केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट पार्टी एकताको बिषय टुंग्याउने तयारी गरिरहेको छ ।