जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १७:४९

एमसीसीमा फरक छैन नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डको मत, यस्तो छ अन्तिम निचोड


काठमाडौं, माघ १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक चलिरहँदा एमसीसीको बिषयमा अनेकथरी चर्चा सुरु भएको छ । नेपाल सरकारले लामो समयसम्मको प्रयाशपछि स्वीकृत भएको एमसीसीलाई लिएर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीचमै फरक धारणा रहेको भन्दै केन्द्रीय सदस्यहरुले नै बैठक र आफ्नो फेसबुकमा सार्वजनिक गरिरहेका छन ।

केन्द्रीय सदस्यहरु एमसीसीबारे बुझ्दै नबुझी प्रधानमन्त्री ओलीबिरुद्ध फायर खोलेर बसेपनि यथार्थ भने बिल्कुलै फरक रहेका पाइएको छ । के नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच एमसीसीको बिषयमा मत बाझिएको हो त ? यो प्रश्नको जवाफ नपाएपछि प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली एमसीसीको पक्षमा र अर्का अध्यक्ष प्रचण्ड बिपक्षमा भन्दै एउटा बिचौलिया समुहले नेकपाकै केन्द्रीय सदस्यहरुमा भ्रम छरिदिएको छ । यस बिषयमा अध्यक्ष प्रचण्डले आफू निकट नेताहरुलाई बोलाएरै प्रष्ट पार्नुभएको छ । खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले नेपालमा कार्यान्वयनमा आइसकेको एमसीसी संसदबाट अनुमोदन गर्नुको बिकल्प नरहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।

‘एमसीसी पारित गर्नुको बिकल्प छैन, यसलाई अस्वीकार गर्ने भए २०१५ मै अस्वीकार गर्नुपथ्र्याे,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै उहाँलाई भेटन पुगेका एक स्थायी समिति सदस्यले जनताटाइम्ससँग भने, ‘अहिले राष्ट्रघात भएको भन्दै कुर्लने कमरेडहरु त्यसबेला कहाँ हुनुहुन्थ्यो ? यो त नेपालको बिकाशलाई अवरोध गर्ने कुरा भयो, एमसीसीमा मेरो र प्रधानमन्त्रीको मत समान छ, पारित गरेर जानुपर्छ भन्ने नै हो ।’ पूर्वमाओवादी समुहमा रहेका अध्यक्ष प्रचण्ड निकट नेताहरुले समेत एमसीसीको बिरुद्ध फेसबुकतिर बहकिन थालेपछि केही नेताहरु एमसीसीको बिषयमा प्रष्ट हुन अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए । खुमलटार स्रोतका अनुसार अध्यक्ष प्रचण्डले एमसीसीको बिरोध गर्नेहरुले आफू र प्रधानमन्त्री ओली भिडाएर पार्टी एकतामा असर पुर्याउने कामका रुपमा आफूले बुझेको भन्दै सूची बनाइरहेको जानकारीसमेत गराउनु भएको छ ।

‘हामी दुई अध्यक्ष भिडाउने र पार्टी बिगार्न चाहनेहरु को को रहेछन भन्ने कुरा बुझ्न सहज भएको छ, यो एमसीसीले हामीलाई केन्द्रीय कमिटीमै रहेका र हाम्रा भनिएका नेताहरुको हालत के रहेछ भन्ने बुझ्न सहज भएको छ, जुन कुरा भोलिका लागि निकै काम लाग्नेछ,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने । एमसीसीमा सैन्य गठबन्धन नरहेको बिषय छर्लंग भइसक्दा पनि बिरोध गर्नुको अर्थ सरकार र पार्टीलाई कमजोर पार्ने कुनै मिसन हुन सक्ने संकेत पनि अध्यक्ष प्रचण्डले गर्नुभएको स्रोतले बतायो ।