जनता टाइम्स

१८ माघ २०७६, शनिबार १२:००

नेकपाको केन्द्रीय कमिटि बैठक : समुहगत प्रतिवेदन प्रस्तुति जारी


काठमाडौं, माघ १८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म समूह ३ का नेता खिमलाल भट्टराई, समूह १२ का नेता रेणु दाहाल र समूह ४ का नेता जगन्नथ खतिवडाको प्रस्तुति सकिएको छ ।

यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु बैठकमा बाँकी रहेका समुहका टोली नेता र उपनेताले लिखित निचोड प्रस्तुत गर्न शुरु गरेका छन् । बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गर्नेछ । आज समुहगत सुझाव आएपछि भोली नेतृत्वले जवाफ दिने तथा सचिवालय र स्थायी कमिटीले गरेका निर्णय पारित गर्नका लागि प्रस्तुत गरिने भएको छ ।

बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ । बैठक आइतबार समापन हुनेछ ।