कठमाडौं, माघ १८ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सपना नदेख्नेहरुले केही गर्न नसक्ने बताउनु भएको छ । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अठोट र सपना देख्नु परिवर्तनको पूर्वशर्त हो । सपना नदेख्नेहरुले केही गर्न सक्दैनन् ।’
उपप्रधानमन्त्री पोखरेलले हरेक व्यक्तिले विकासको काम मेरो काम हो भनेर अठोट गर्नुपर्नेमा जोड दिनुभयो । ‘असल काम जसले गरेको भएपनि प्रशंसा गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको विश्वास र आर्शिवाद लिएर काम गर्नुपर्छ । जनतासँग मिलेर काम गर्न उपप्रधानमन्त्री पोखरेलले जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । ‘भाषण गरेर होइन, काम गरेर देखाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘कुनै पनि नामबाट जनतालाई ढाट्ने ठग्ने काम गर्नुहुँदैन ।’
उहाँले मठ, मन्दिर र सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । ‘संस्कृतिको रक्षा, सबै जातजाती भाषा धर्मबीच सहिष्णुता कायम गर्नु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो । उपप्रधानमन्त्री पोखरेलले निर्वाचनको समयमा जनतासँग गरेको प्रतिबद्धता पूरा गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउनस सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ क्षेत्र नंं ५ (क) का प्रदेश सांसद नारायण सिलवालले पुनः निर्माण तथा नव निर्माण गर्दा पुरातात्विक सम्पदालाई ख्याल गरेर गर्नुपर्ने बताउनुभयो । ‘काठमाडौंमा खोनपानी समस्या छ । त्यो बाहेक अरु काम तिब्र गतिमा भइरहेको छ । अब मेलम्चीको पानी छिट्टै आउँछ,’ सांसद सिलवालले भन्नुभयो ।
सांसद सिलवालले अव्यवस्थित बिजुली र तारहरुलाई व्यवस्थित बनाउन सम्बन्धित निकायहरु लगिपरेको बताउनुभयो । ‘बिजुली र तारहरुको व्यवस्थापन भएपछि सुन्दर बस्तिको रूपमा परिचित हुन्छ,’ उहाँले भन्नुभयो । प्रदेश सांसद सीता अधिकारीले विकास निर्माणको काममा सबै जना एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्