जनता टाइम्स

१८ माघ २०७६, शनिबार १९:०८

मेयर शाक्यको घोषणा : अवरोध भयो भनेर हाम्रो अभियान रोकिन्न


काठमाडौं, माघ १८ । काठमाडौं महानगरपालिका वडा नम्बर–१८ ले सम्पदामैत्री सुविधा सम्पन्न भवन निर्माण गरेको छ । हनुमानढोकादेखि स्वयम्भूसम्मको सम्पदामार्ग क्षेत्रभित्र रहेको वडा नम्बर–१८ ले ६० लाखको लगानीमा यस्तो सुविधासम्पन्न भवन निर्माण गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज सो सुविधासम्पन्न वडा भवनको उद्घाटन गर्नुभएको हो । ‘काठमाडौं महानगरपालिकाले केन्द्रदेखि सबै वडाका आफ्नै भवन निर्माण गर्ने नीति अनुसार नै आज वडा नम्बर–१८ को भवन उद्घाटन गरेको हो,’ मेयर शाक्यले भवन उद्घाटनपछि सम्वोधन गर्दै भन्नुभयो, ‘ऐतिहासिक–साँस्कृतिक शहर काठमाडौं महानगरको पनि विश्व सम्पदा क्षेत्रमा रहेको वडा नम्बर–१८ को यो सम्पदामैत्री भवन उद्घाटन गर्दैगर्दा मलाई धेरै खुशी लागेको छ ।’

मेयर शाक्यले आफ्नै कार्यकालमा सकेसम्म ३२ वटै वडाका आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्ने योजना भएको भन्दै अहिले धेरै वटा वडाका आफ्नै भवन निर्माण हुँदै गरेको बताउनुभयो । ‘कतिपय वडामा तला थप्ने काम भैरहेको छ भने केही वडा भवन निर्माणको अन्तिम चरणमा पुगेका छन,’ उहाँले भन्नुभयो, ‘वडा नम्बर २, २१ र २९ को पनि प्रक्रिया अघि बढेको छ ।’ मेयर शाक्यले महानगरपालिकाको आफ्नै भवन नहुदाँ सेवाग्राहीलाई पनि समस्या भएको भन्दै भवन निर्माणका लागि वजेट विनियोजन गरे पनि केहीले अवरोध गरेका कारण समस्या भएको गुनासो गर्नुभयो । ‘हामी अहिले पनि मूर्त–अमूर्त सम्पदाको संरक्षण गर्दै, जात्रा–पर्वका मौलिक परम्परालाई पनि प्राथमिकतामा राखेका छौं ।’

उहाँले निर्माण–पुर्ननिर्माणको महाअभियानलाई पनि अघि बढाउन चाहेका बताउनुभयो । ‘तर, बेला–बेलामा व्यक्तिगत र राजनीतिक स्वार्थ राखेर गरेका अवरोधका कारण समस्या हुने गरेको छ,’ उहाँले भन्नुभयो, ‘तर, अवरोध भयो भनेर हाम्रो अभियान रोकिन्न ।’ वडा भवनको उद्घाटन कार्यक्रममा बोल्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि साँस्कृतिक शहरको बिचमा रहेको साँस्कृतिक वडा–१८ ले सम्पदामैत्री वडा भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष नुच्छेकाजी महर्जनले शिलान्यास गरेको एक वर्ष भित्रैमा भवन निर्माण गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो । ‘२०७५ माघ ७ गते वडा भवन शिलान्यास गर्दा समयमा सम्पन्न गर्न मुस्किल हुने हो कि भन्ने लागेको थियो । सबैको सहयोगले समयमै सम्पन्न भयो,’ वडाध्यक्ष महर्जनले भन्नुभयो, ‘नयाँ भवन निर्माणका लागि ४० लाख खर्च भयो । पुरानो भवनको पनि बाहिरी स्वरुपलाई नयाँ भवनकै डिजाइनमा तयार पार्दा २० लाख जति खर्चभयो । हामीले वडा भवन सम्पदामार्गमा पर्ने भएकाले सम्पदा मैत्री बनाएका छौँ । मौलिकतालाई पनि ध्यान दिएका छौँ ।’

वडाध्यक्ष महर्जनले सेवाग्राहीलाई सेवा लिनका लागि सहज होस भन्ने उदेश्यले सेवाग्राहीलाई बस्ने ठाउँको व्यवस्था गर्नुका साथै सुरक्षाका लागि वडा भवनमा चार ओटा सीसी क्यामेरा राखेको पनि जानकारी दिनुभयो । ‘हामीले वडा–१८ लाई नमूना वडाका रुपमा विकास गर्न चाहेका छौँ,’ उहाँले भन्नुभयो, ‘अहिले वडाभरी विभिन्न ठाउँमा २४ ओटा सीसी क्यामेरा राखेका छौँ भने कुहिने र नकुहिने फोहोर संकलनका लागि जनचेतनामुलक कार्यक्रम गर्नेलगायतका कामलाई प्राथमिकता दिएका छौँ ।’