जनता टाइम्स

१९ माघ २०७६, आईतवार १६:४७

रघुबीर महासेठबिरुद्ध नेकपामा पर्यो लिखित उजुरी


काठमाडौं, माघ १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुबीर महासेठबिरुद्ध केन्द्रीय कमिटी बैठकमै उजुरी परेको छ । नेकपाको विधानविपरित महासेठलाई स्थायी कमिटी सदस्य मनोनित गरिएको जिकिरसहित महासेठको पद घटुवा गर्न मागसहित केन्द्रीय कमिटी बैठकमा लिखित उजुरी परेको हो ।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्दा विधानको पालना नभएको भन्दै लिखित उजुरी दिनुभएको हो । साहले बैठकमा लिखित निवेदन प्रस्तुत गर्दै २०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ मा केन्द्रीय निकाय तथा विभागका पदाधिकारी र सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको स्मरणसमेत गराउनु भएको छ । विधानको धारा ३४ (ख) मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटब्यूरो सदस्य हुनुपर्ने छ भन्ने स्पष्ट व्यवस्था रहेको छ । त्यस ब्यवस्थाविपरित महासेठलाई स्थायी कमिटीमा राखिएकोले घटुवा गर्नुपर्ने साहको माग छ ।

महासेठलाई स्थायी कमिटी सदस्यमा विधान विपरीत मनोनयन गरिएपछि प्रदेश २ मा कयौं नेता–कार्यकर्ताले विरोध गरेको भन्दै साहले केन्द्रीय कमिटी बैठकमा लिखित उजुरी नै दर्ज गराउनु परेको जनाउनु भएको छ । ‘कमरेड रघुवीर महासेठ आफ्नो राजनीतिक जीवनमा एक पटकमात्र आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वा्चित हुनु भएको हो भने दुई पटक मनोनितसम्म हुनु भएको हो, कहीँ कुनै कम्युनिस्ट घटकमा अहिलेसम्म उहाँ पोलिटब्यूरो सदस्यको जिम्मेवारी प्राप्त गर्नुभएको छैन,’ साहको उजुरीमा भनिएको छ ।