जनता टाइम्स

१९ माघ २०७६, आईतवार १८:२१

नयाँ वर्षसँगै बल्खुमा नेकपाको केन्द्रीय कार्यालय शिलान्यास


काठमाडौं, माघ १९

नयाँ वर्ष २०७७ सँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राजधानीको मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय रहेको सो स्थानमा नेकपाले नयाँ कार्यालय बनाउने निर्णय गरेका हो ।

तीन महिनाभित्र पार्टी कार्यालय शिलान्यास गर्ने प्रस्तावसहित नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीको बैठक सकिएको छ । ‘यो बैठक काठमाडौँको मदननगर बल्खुस्थित आफ्नै जमिनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने केन्द्रीय सचिवालयको निर्णयलाई स्वागत गर्दछ’, समसामयिक प्रस्तावमा भनिएको छ, ‘देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुनेगरी आगामी तीन महिनाभित्र पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णय गर्दछ । उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यहरूले न्यूनतम एकदीनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकहरूलाई दिलखोलेर सहयोग गर्न हार्दिक अपिल गर्दछ ।’

नेकपाको पार्टी कार्यालय धुम्बाराहीस्थित भाडाको घरमा छ । मासिक १ लाख ५० हजार भाडा बुझाउने शर्तमा नेकपाले पासाङ ल्हामु स्मृति प्रतिष्ठानको घर उपयोग गरेको छ । भूकम्पले कार्यालय खण्डहर बनाएपछि ईश्वर पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति पनि तत्कालीन एमालेले बनाएको थियो ।

पार्टी एकतापछि पेरिसडाँडामा आफ्नै कार्यालय भवन पनि नभएको होइन । पेरिसडाँडालाई जनसंगठनहरूको कार्यालय बनाउने र पार्टी मुख्यालय धुम्बाराहीमै राख्ने निर्णय सचिवालयले गरेको थियो । पेरिसडाँडामा पार्टीका विभाग राख्ने निर्णय पनि गरिएको थियो ।