जनता टाइम्स

२० माघ २०७६, सोमबार २०:११

डिल्लीबजार कारागार पुगेर महरासँग बाबुराम भट्टराईले बिताए एक घन्टा


काठमाडौं, माघ २० । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डिल्ली बजार कारागारमा गएर निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट गर्नुभएको छ । जबरजस्ती करणी सम्बन्धी कसूरमा कारागार चलान भएपछि महरालाई भेट्न भट्टराई आज दिउसो डिल्लीबजार कारागार पुग्नुभएको हो ।

भट्टराई महरा भेटने पहिलो उच्च तहको राजनीतिज्ञ भएको कारागारमा रहेका एक प्रहरीले जानकारी दिए । आज दिउँसो कारागार पुग्नुभएका भट्टराईले करिब एक घन्टा महरासँग कुराकानी गर्नुभएको कारागारका एक कर्मचारीले बताए ।

महरालाई गत कात्तिक १८ गते पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो । आदेशविरुद्ध उच्च अदालत पुगे पनि जिल्लाकै आदेश सदर गरेपछि महरा कारागारमै हुनुहुन्छ । महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन उच्च अदातलते भनेको थियो । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएलगत्तै प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

महिलाको किटानी जाहेरीपछि गत असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै महरालाई पक्राउ गरिएको थियो । भेटमा भएको कुराकानीबारे भट्टराईले केही खोल्नुभएको छैन ।