जनता टाइम्स

२० माघ २०७६, सोमबार २१:०४

गृहमन्त्री थापाले गर्नुभयो सचिव राईको बिदाइ, यस्तो भयो खुलासा


काठमाडौं, माघ २०

अनिवार्य अवकाश पाएका गृहसचिव प्रेमकुमार राईलाई आज बिदाइ गरिएको छ । गृह मन्त्रालयमा एक समारोहमा उहाँलाई बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा गृहमन्त्री रामबहादुर थापाले अवकाशप्राप्त सचिव राईले मन्त्रालयमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । सरल, सहज र कर्तव्यनिष्ट राईको राज्यप्रतिको समर्पण भाव प्रेरणादायी रहेको मन्त्री थापाले बताउनुभयो । हरेक सरकारी कर्मचारीले गलत प्रवृत्तिविरुद्ध लड्न र कानून कार्यान्वयनमा डराउन नहुनेमा जोड दिँदै मन्त्री थापाले राईमा त्यस्तै खालको प्रवृत्ति थियो भन्नुभयो ।

अवकाशप्राप्त सचिव राईले राष्ट्रसेवक भएर आफ्नो कार्यकालमा इमान्दारीपूर्वक जनताको काम गरेको जिकिर गर्नुभयो । उहाँले गृहमन्त्री थापासँग काम गर्दा सहज भएको उल्लेख गर्दै सोही कारण मन्त्रालयले सफलता प्राप्त गरेकोसमेत बताउनुभयो ।

मन्त्री थापाले राईलाई नयाँ अभियान र नयाँ सेवामा पठाउन लागिएको खुलासा समेत गर्नुभयो । ‘उहाँ गृहसचिवबाट मात्रै बिदाइ हुनुभएको हो। उहाँलाई नयाँ अभियान, नयाँ सेवा र नयाँ जिम्मेवारीमा पठाउँदैछौँ’, मन्त्री थापाले भन्नुभयो ।

यही माघ २२ गते अनिवार्य अवकाश पाउने भए पनि उहाँले दिएको राजीनामा आजदेखि लागू हुनेगरी यसअघि नै स्वीकृत भएको थियो । विसं २०४० मा सेवा प्रवेश गरी २०७१ सालमा सचिवमा बढुवा भएका राईले २०७४ साल चैत २६ गतेदेखि गृहसचिव भएर काम गर्नुभएको थियो ।