जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १०:१५

नेपालका पत्रकार ओलीले १२५ देशका खेल पत्रकारलाई उछिन्दै जिते ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड


काठमाडौं, माघ २१

वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जित्नुभएको छ । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उहाँले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गर्नुभएको हो ।

हङ्गेरीको बुडापेस्टमा गए राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषित गरिएको हो । अर्जेन्टिना र स्पेनका खेल पत्रकारको समाचारलाई पछि पार्दै उहाँले रु नौ लाख राशिको सो पुरस्कार हात पार्नुभएको हो । उहाँ अङग्रजी दैनिक ‘दि काठमाडौँ पोष्ट’का खेलकूद व्यूरो प्रमुखका साथै नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिवसमेत हुनुहुन्छ । एआइपीएसमा अवार्ड जित्ने उहाँ नेपालको पहिलो पत्रकार बन्नुभएको छ । डेढ दशकदेखि खेलकूद पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ ।

पत्रकार ओलीले गत असार १९ गते काठमाडौँ पोस्टमा मुस्किलले ५० खेल खेलिने ‘नेपालमा झण्डै २०० खेल सङ्घ पालिएका छन’ शीर्षकमा समाचार सम्प्रेषण गर्नुभएको थियो । त्यही समाचार विश्वभरका १८० देशका सयौँ पत्रकारले पठाएको समाचारमध्ये सर्वोत्कृष्ट बनेको हो । सो विधामा स्पेनका कार्लोस माटालान्स र अर्जेन्टिनाका सेबास्टिन इग्नासियो टोरोक शीर्ष तीनमा पर्नुभएको थियो । ओलीले लेख्नुभएको समाचार शीर्ष ३०, शीर्ष १० हुँदै शीर्ष तीनमा परेको थियो । उक्त अवार्डले नयाँ पुस्तालाई अझ मेहनत गर्न प्रेरणा मिलेको उहाँले बताउनुभयो । नेपालमा अनावश्यकरुपमा खेलकूद सङ्घहरु स्थापना गरिँदै आएको विषयवस्तुलाई पत्रकार ओलीले आलेखमा उजागर गर्नुभएको थियो । उहाँले उक्त समाचार १५ दिनभन्दा बढी समय खर्चेर तयार पार्नुभएको थियो ।

इन्टरनेशनल स्पोर्टस प्रेस एशोसिएशन (एआइपीएस) विश्वभरका खेलकूद पत्रकारको सर्वोच्च संस्था हो । एआइपीएसमा १६१ देशका खेलकूद पत्रकार सङ्घ आबद्ध छन् । नेपाल खेलकूद पत्रकार मञ्च उक्त एशोसिएशनमा आबद्ध छ । आइएसपीएले गत वर्षदेखि ‘एआइपीएस स्पोर्टस मिडिया अवार्ड’ प्रदान गर्दै आएको छ । उत्कृष्ट तीनभित्र पर्नुभएका स्पेनका कार्लोसले टेनिस खेलाडी राफेल नाडालबारे उहाँका एक शुभचिन्तकले लेखेको भावुक पत्रलाई आधार बनाएर समाचार लेख्नुभएको थियो । यस्तै अर्जेन्टिनाका सबास्टिनले अर्जेन्टिनाको टेनिसमा हुने गरेको म्याच फिक्सिङबारे समाचार लेख्नुभएको थियो ।