जनता टाइम्स

२१ माघ २०७६, मंगलवार ११:२९

तेस्रो लिंगी भुजेल हत्या प्रकरण : मोवाइलले पत्ता लगाईदियो हत्यारा


मकवानपुर, माघ २१

हेटौंडा–११ की तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न रहेका पाँचजनालाई सार्वजनिक गरेको हो ।

माघ ४ गते बिहान अजिताको शव हेटौंडा–५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख उपरीक्षक सुशीलसिंह राठौरका अनुसार यौन सम्पर्कपश्चात् पैसाको विषयमा कुरा नमिल्दा भुजेलको हत्या गरिएको अनुसन्धानबाट खुल्नमा आएको छ ।

हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्‍याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरी विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए ।

‘यौन सम्पर्कपछि रकममा बार्गेनिङ भएपछि गाडीभित्रै घाँटीमा तारले बेरेर हत्या गरिएको पाइएको छ ।’ उहाले भन्नुभयो ‘ट्रकभित्रै हत्या गरेर हेटौंडा ५ क्याम्पा डाँडामा शव फालिएको थियो ।’ प्रहरीले ४ माघमा बिहान क्याम्पा डाँडा नजिक कान्तिलोक पथको सडक किनारामा शव फेला पारेको थियो ।

हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए । अजिताको हराएको मोबाइल बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिएका थिए । सोही मोबाइल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न २ जना अझै फरार रहेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा, टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।