जनता टाइम्स

२१ माघ २०७६, मंगलवार १९:००

लुम्बिनीलाई साँस्कृतिक शहरका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, माघ २२ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीलाई साँस्कृतिक विविधतायुक्त शहरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी विकास कोषले आज लुम्बिनीमा आयोजना गरेको ‘वृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धी छलफल’ कार्यक्रममा उहाँले भन्नुभयो, “लुम्बिनीको गुरुयोजना र यहाँका होटलले मात्रै स्थानीयवासीलाई लाभ दिन नसक्ने हुँदा लुम्बिनीलाई साँस्कृतिक विविधायुक्त शहरको रुपमा विकास गर्नुपर्छ ।”“स्थानीय समुदाय आफै पर्यटन प्रवद्र्धनका हिस्सेदार बन्नुपर्छ, त्यसका लागि लुम्बिनी बाहिर साँस्कृतिक विविधतायुक्त शहरको विकास गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “लुम्बिनी बाहिर ‘मिनि ठमेल’ निर्माण हुनसके पर्यटकको बसाइँ लम्ब्याउन सहज हुन्छ ।”

मुख्यमन्त्री पोखरेलले सम्पदा प्रवद्र्धनका लागि जग्गा अधिग्रहण गरेर नक्साङ्कनको काम अगाडि बढाउन आवश्यक रहेको बताउँदै सैनामैनाको जोगिडाँडा देवदहको खयरडाँडा जस्ता क्षेत्रको पुरातात्विक महत्व पहिचानका लागि यस क्षेत्रमा पुरातत्व विभागको कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी विकास कोष अहिलेसम्म आफ्नो क्षेत्रभित्रको विकासमा मात्रै केन्द्रित रहेकाले गुरुयोजनाको काम पूरा भएपछि कोष बाहिरको काममा पनि ध्यान दिन सकिने बताउनुभयो । “विकास निर्माणमा मात्रै कोष केन्द्रित हुने हो भने पर्यटन प्रवद्र्धन र व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्छ”, उहाँले भन्नुभयो, “व्यवस्थित बस्ती विकासको लागि प्रदेश सरकारले योजना बनाएर अगाडि बढ्ने गृहकार्यमा लागेको छ ।” रासस