जनता टाइम्स

२२ माघ २०७६, बुधबार १३:१०

महिला भलिबलमा छलाङ : नेपाली इतिहासकै उच्च वरियता, विश्वको ८७ औं स्थानमा


काठमाडौं, माघ २२

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले विश्व वरियतामा ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यस वर्षको लागि सार्वजनिक गरेको वरियताका क्रममा नेपाली महिला भलिबल टिम ८७ औं पर्न सफल भएको हो । यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो । वर्ष भरको प्रदर्शनका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीले जनाएको छ ।

अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो । वरियता क्रममा नेपालको ५७ अंक छ । अघिल्लो १ वर्षभित्र गरेको प्रदर्शनको आधारमा एक वर्षको लागि वरीयता निर्धारण हुने गर्दछ । वरीयता १ फ्रेब्रुअरी २०२० बाट ३१ जनवरी २०२० मा लागु हुने गर्दछ । छिमेकी भारत ९७ अंकसहित ५४औं स्थानमा रहँद इरान ८९ अंकसहित ६३ औं स्थानमा, श्रीलंका ७९ अंकसहित ७१औं स्थानमा र ५० अंक रहेको अफगानिस्तान १२१ औं स्थानमा छ ।

बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्केमिनिस्तानको समान ५० अंक छ ।३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ । ३ सय ८२ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३ सय २८ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ । इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन् ।

मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेको थियो । नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो । यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो । त्यस्तै पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थानमा छ ।