जनता टाइम्स

२२ माघ २०७६, बुधबार १३:५२

महिला सम्बन्धि विशेष नीति’ ल्याउने मन्त्री गुरुङको घोषणा


काठमाडौं, माघ २२ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘महिला सम्बन्धि विशेष नीति’ ल्याउने घोषणा गर्नु भएको छ । मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा हुनेगरी महिला सम्बन्धि विशेष नीति तथा कार्यक्रम ल्याउन लागिएको पनि स्पष्ट पार्नु भयो ।

‘नेशनल नेटवर्क फर बेइजिङ रिभ्यू नेपाल’ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा उहाँले महिला सशक्तिकरणको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ सरकार अघि बढेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आह्वान गर्नु भयो । मन्त्री गुरुङले बोक्सी, दाईजो, बाल विवाहलगायतका सामाजिक कूरीतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचिकृत गरी अघि बढने योजना पनि अघि सार्नु भयो ।

‘मुलुकको समृद्धिमा टेवा दिने गरी समाज सेवाको क्षेत्रलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइनेछ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘त्यसका लागि आवश्यक सुझाव दिन सम्वद्ध सबै पक्षलाई आग्रह गर्दछु ।’मन्त्री गुरुङले सरकारले नागरिक समाजसँगै सहकार्य गरेर मुलुकलाई अघि बढाउन चाहेको पनि बताउनु भयो ।