जनता टाइम्स

२३ माघ २०७६, बिहीबार ११:५३

बालुवाटार जग्गामा गच्छदारको बचाउमा उत्रियो कांग्रेस : देउवा निवासमा काुननविद्सँग परामर्श


काठमाडौं, माघ २३

बालुवाटार जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरेपछि कांग्रेस बचाउमा उत्रिएको छ । मुद्दा दायर गर्ने वित्तिकै प्रवक्ता विश्वप्रकाश शर्माले यसको सांकेतिक विरोध गर्नुभयो । त्यसलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि घुमउरो पारामा विरोध गर्दै अख्तियारलाई नेकपाको इशारामा चलेको आरोप लगाउनु भयो ।

अख्तियारले गच्छदारमाथी साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापति निवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका छन् । बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको छ ।

सभापति निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू भेला भएर छलफल गर्नुभएको हो । बैठकमा विशेषगरी कुन कानुन अन्तर्गत मुद्दा लगाइएको र अब कसरी प्रस्तुत हुने भन्ने विषयमा केन्द्रीत रहेको छ । बैठकपछि यो प्रकरणमा कांग्रेसको आधिकारिक धारणा आउनसक्ने बताइएको छ ।