जनता टाइम्स

२३ माघ २०७६, बिहीबार १३:२८

बूढासुब्बा गोल्डकप फागुन १० देखि


धरान, माघ २३

मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै देशीविदेशी गरी प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने जानकारी दिएको छ ।

क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रदेश अध्यक्ष किशोर राईका अनुसार एन्फाले बूढासुब्बालाई ‘क’ श्रेणीमा राखेपछि प्रतियोगिताको पुरस्कार राशि बढाइएको छ । विजेतालाई रु १० लाख र उपविजेतालाई रु पाँच लाख दिने अध्यक्ष राईले जानकारी दिनुभयो । अघिल्लो संस्करणमा विजेतालाई रु आठ लाख र उपविजेतालाई रु चार लाख दिइएको थियो ।

धरानमा सर्वाधिक विजेतामध्येको एक मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, युके एफसी, भारत, जापान फुटबल लिग टिम, बेलबारी फुटबल क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक धरान फुटबल क्लब प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ ।

बाइसौँ संस्करणमा हालै भित्रिएको भिडियो असिस्टेन्ट रेफ्री ९भिएआर० लाई प्रयोगमा ल्याउन लागिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । यो प्रणाली नेपालमै पहिलोपटक बूढासुब्बाले प्रयोगमा ल्याउन लागेको क्लबका अध्यक्ष राईले जानकारी दिनुभयो । विदेशी ठूला प्रतियोगितामा यस प्रविधिको प्रयोग हँुदै आएको छ । रेफ्रीले नदेखेका वा दोधार भएको कुरा भिएआरको माध्यमबाट थाहा पाउन सकिन्छ ।