जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १५:५६

उद्यमशिलता, स्वरोजगार सम्बन्धि युवा परामर्श कार्यक्रम सम्पन्न


देवचुली, माघ २४

राष्ट्रिय युवा परिषद्ले उद्यमशिलता, स्वरोजगार सम्बन्धि युवा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । परिषद्को आयोजना रहेको कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वय रहेको थियो । आज सम्पन्न भएको परामर्श कार्यक्रम भिमसेन आदर्श मावि नवलपुरमा १५० जना युवा विद्यार्थीहरु सहभागी रहेका थिए । परिषदले परामर्शको माध्यमबाट युवालाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा प्रशासकिय प्रमुख डा. बाबुराम ढुंगानाले युथ भिजन २०२५, युवा नीति २०७२ र राष्ट्रिय युवा परिषद्को बार्षिक कार्यक्रम र भावी योजनाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली युवालाई स्वदेशमा नै उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले परिषद्को पहलमा अर्थ मन्त्रालयले जारी ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि संसोधन २०७६” का बारेमा युवालाई जानकारी गरिएको थियो ।

भिमसेन आदर्श माविका प्राध्यापक नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नवलपुर शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयमा सरकार आइपुगेकाले विद्यालय र विद्यार्थीहरुले परिषद्सँगको सहकार्यमा नमुना उद्यम संचालन गर्न आग्रह गर्नुभयो। राष्ट्रिय युवा परिषद् अन्तर्गतको संघ संस्था संजालका अध्यक्ष तिलोत्तम पौडेलले परिषद्ले स्थापनाको ४ वर्षमा नै Future Policy Award र World Youth Prize लिन सफल भएकोमा खुसी व्यक्त गर्दै युवा विद्यार्थीहरुले युवा परिषद्को कार्यक्रमसँग जोडिन आग्रह गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्ले युवा परिचालनको वर्ष २०७६ लाई ११ वटा क्षेत्र कृषि उत्पादनमा युवा परिचालन, पर्यटन प्रवर्द्धनमा युवा परिचालन, सार्वजनिक शिक्षा सबलीकरणमा युवा परिचालन, वातावरण संरक्षणमा युवा परिचालन, अन्धविश्वास, लैंङ्गिक हिँसा र जातीय विभेद तथा छुवाछुत विरुद्धमा युवा परिचालन, उद्यमशिलता प्रवर्द्धनमा युवा परिचालन, सुशासन प्रवर्द्धनमा युवा परिचालन, विपद व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परंपरागत सीपको विकास तथा संरक्षणमा युवा परिचालन, स्वास्थ्य तथा खेल सचेतनामा युवा परिचालन र विज्ञान तथा प्रविधि प्रवर्द्धनमा युवा परिचालन गर्ने उद्देश्य राखेको छ।

कार्यक्रममा न्यौपानेले विद्यार्थीहरुले पढाईसँगै सिप सिक्नुपर्ने कुरामा जोड दिनुभयो। विद्यार्थी प्रतिनिधि तथा किशोरी अभियान्ता लक्ष्मी काफ्लेले सिकेको कुरा व्यवहारमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा परिषद्का श्यामकाजी खत्री र क्यानालनका दिपक बस्यालको समेतको सहभागी रहेको थियो। कार्यक्रम जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले संचालन गर्नुभएको थियो ।