जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार १६:१०

केन्द्रीय समिति बैठकमा सामुहिकता र अन्तर्घुलनको नयाँ ‘फ्युजन’ भयो : अध्यक्ष प्रचण्ड


काठमाडौं, माघ २४

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामुहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण तथा एकताको प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले केन्द्रीय समितिको बैठकमा एकरुपता कायम भएर अभियानात्मक रुपमा अगाडि बढेको स्पष्ट पार्नुभयो ।

अध्यक्षले अहिले बेस्सरी गर्यौं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठीक नभइरहेको देखाएको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो । तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन ।’

अध्यक्ष प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नभयो, ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता–कता उकुसमुकुस भएजस्तो स्थिति छ ।’ उहाँले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउन तर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताउनुभयो ।