जनता टाइम्स

२६ माघ २०७६, आईतवार १०:३१

पूरा हुँदै प्रधानमन्त्री ओलीको पानीजहाज सपना, फागुनदेखि नारायणीमा पानीजहाज सञ्चालन


चितवन, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । फागनुमा सञ्चालन गर्ने गरी भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै चितवनमा जहाज निर्माणको काम अघि बढेको थियो । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुजसीप निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो । मन्त्रिपरिषद्को बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने गरी काम अघि बढेको छ ‘लगभग निर्माणको सवै काम सकिएको छ, बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौं,’ कँडेलले भन्नुभयो ।

उहाँका अनुसार निर्माण सकाएर १० दिनभित्र अनलाइन बुकिङ आह्वान गरिनेछ । कँडेलका अनुसार क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज) का लागि अनलाइन बुकिङ खुला गर्न लागिएको हो । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइनेछ । जहाजभित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन भने बारहरु रहनेछन् । यस्तै भुइँतलामा ९० वटा कुर्ची, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने गरी ब्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिनुभयो । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो हो ।

ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए । क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीन रूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ ।