२७ माघ २०७६, सोमबार ००:००

नेपाली ल्याउन एयरबस ३३० वाइड बडी फागुन ३ गते चीन जाने


काठमाडौं, माघ २७ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । जहाज आगामी १५ तारिख अर्थात फागुन ३ गते चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधिहरु पनि छन् । कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।