जनता टाइम्स

२७ माघ २०७६, सोमबार १८:४०

भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङको निश्कर्ष : सडक मर्मत सम्भार सेकेण्डरी काम हुन सक्दैन


काठमाडौं, माघ २७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौं संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शून्यमा बस्न नसक्ने प्रष्ट पार्नुभएको छ । सडक बोर्ड नेपालले आज आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवं प्रगति गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले यस्तो जानकारी दिनुभएको हो ।

‘सार्वजनिक खरिद नियमावली नवौं संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुनसक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ,’ गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्वाङले भन्नुभयो । राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने पनि मन्त्री नेम्वाङले प्रष्ट पार्नुभयो ।

उहाँले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको बताउनु भयो । ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासँग जोडिएका हु्न्छन । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दाखेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ,’ मन्त्री नेम्वाङले भन्नुभयो । उहाँले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भीर रुपमा नियालीरहेकाले सडकको निर्माण, मर्मत सम्भारसँग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन निर्देशन दिनुभयो ।

सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने निश्कर्ष पनि उहाँले सुनाउनु भयो । ‘केही अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घटना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजीवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनाले यो क्षेत्र प्राथमिकतामा रहनुपर्छ । नयाँ बाटो निर्माण, कालोपत्रे त्यो सँगसँगै मर्मतमा ध्यान दिनु जरुरी छ,’ मन्त्री नेम्वाङले भन्नुभयो । अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भीर हुन पनि मन्त्री नेम्वाङले निर्देशन दिनुभयो ।