जनता टाइम्स

२८ माघ २०७६, मंगलवार ०८:२७

देशभरिकै न्यूनतम तापक्रम बढ्यो


काठमाडौँ , माघ २८ । देशका धेरै ठाउँमा चिसो कम हुँदै गएको छ । देशभरिकै न्यूनतम तापक्रम बढ्दै गएपछि चिसो कम हुँदै गएको हो ।

मङ्गलबार बिहान काठमाडौँको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ । सोमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको मङ्गलबार बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै सोमबार माइनस ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको मङ्गलबार बिहानको तापक्रम माइनस ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यसैबीच अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालको हुनेछ ।