जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १२:५३

अन्ततः चिसोपानीले नुहाउन बाध्य बन्यो कांग्रेस


काठमाडौं, माघ २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने गलत निर्णय सच्याएको छ । कांग्रेसले भ्रष्टाचारको मुद्दामा आफ्ना नेता जोगाउन लगातार संसद बैठक अवरुद्ध गर्दै आएकोमा सो गल्ती सच्याएर अव सदन नियमित चल्न दिने निर्णय गरेको हो । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले आफना उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसंगै त्यसको विरोधमा विहीबारदेखि नै संसद अवरुद्ध गर्दै आएको थियो । कांग्रेसको सो कामल भ्रष्टाचारीलाई नै प्रोत्साहित गर्दै कांग्रेस संस्थागत रुपमै भ्रष्टाचारीको पक्षमा रहेको सन्देश गएपछि उस्ले आफ्नो गल्ती सच्याएको हो ।

कार्यसमितिका सदस्यसमेत रहनुभएकी नेतृ डिला संग्रौलाले अब बस्ने सदनलाई कांग्रेसले अवरोध नगर्ने जानकारी दिनुभयो । गच्छदारको भ्रषटचार मुद्दाको विषयलाई राजनीतिक मुद्दाका रुपमा अघि बढाउने र हालका लागि संसद सुचारु हुन दिने निर्णय भएको संग्रौलाले जानकारी दिनुभयो ।