काठमाडौं, माघ २८
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टचारीमा निर्लज्जता थपिएको बताउनु भएको छ । उहाले यो गम्भिर विषय भएको पनि उल्लेख गर्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाजमा भ्रष्टाचारसँगै निर्लज्जता थपिएकोले कहाँ भ्रष्टाचार छ, कहाँ सदाचार छ, छुट्याउनै गाह्रो परेको बताउनु भयो ।
‘पहिले पहिले समाजमा बद्मासी गर्नेहरुलाई तामा, कुश छुन लगाउँदा उसले घोसेमुन्टो लगाउँथ्यो। तर अहिले कोही पनि घोसेमुन्टो लगाउँदैन। अथवा भ्रष्टाचारमा निर्लज्जता थपिएको छ। घोसेमुन्टो कसैले लगाउँदैन। त्यसकारण कहाँ नेर सदाचार छ कहाँनेर भ्रष्टाचार छ, छुट्याउन गाह्रो छ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।
संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको स्पष्ट पार्दै सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप कहिले नगर्ने बताउनु भयो । ‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन’’, उहाँले भन्नुभयो, ‘‘ सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउदैन ।’’ सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’
उहाँले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेमात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । ‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उहाँले भन्नुभयो । उहाँले भ्रष्टाचारमा निल्र्लजता थपिएको जनाउँदै कहाँ सदाचार र कहाँ भ्रष्टाचार रहेको छ भन्ने छुट्टाउन गाह्रो छ भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्