जनता टाइम्स

२८ माघ २०७६, मंगलवार २२:५२

बिदाई कार्यक्रममा आइजिपी खनालले भन्नुभयो : म माथी गलत आरोप लगाउने प्रयास भयो


काठमाडौं, माघ २८

प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिदाइ गरेको छ । आफ्नो ३० वर्षे सेवा अवधि सकिएकाले रातिदेखि अनिवार्य अवकाश लिन लाग्नुभएका खनाललगायत प्रहरी अधिकृतहरुको आज साँझ एक समारोहका बीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीले उहाँलाई बिदाइ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । बिदाइ समारोहमा महानिरीक्षक खनालले आफ्नो सेवा अवधिमा धेरै अनुभव सङ्गालेको बताउँदै आफूले विभिन्न आलोचना र आरोपसमेत खेप्नुपरेको प्रतिक्रिया दिनुभयो । उहाँले आफूमाथि गलत आरोप लगाउने प्रयास भएको भन्दै दुखेसो पनि गर्नुभएको थियो ।

सो क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले सङ्गठनको नेतृत्व लिएर वर्तमान प्रहरी महानिरीक्षक खनालले सेवा अवधिमा गरेको कामको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाँले प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएर समाज र प्रहरीलाई जोड्ने काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा सङ्गठनलाई चलायमान गराउन सबैको साथ र सहयोगको अपेक्षा राख्नुभयो । अवकाश लिनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको समेत आजै बिदाइ गरिएको थियो ।