जनता टाइम्स

२९ माघ २०७६, बुधबार ०७:५०

सिन्धुपाल्चोकमा ‘कोरोना भाइरस’ लागेको हुन सक्ने भन्दै आवश्यक सहयोगको लागि चिठी, १ सय भन्दा बढि विरामी


काठमाडौं, माघ २९ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बागाउँका १०० भन्दा बढी स्थानीय बिरामी परेका छन् ।

गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वागमती प्रदेश सरकारलाई पत्र लेखेका छन् ।संघीय सरकारसँग पनि विशेषज्ञ चिकित्सक पठाइदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

माघ २३ गतेदेखि केही व्यक्तिमा रुघा र उच्च ज्वरो देखा परेको र उक्त संख्या मंगलबार बढेर १०० नाघेको श्रेष्ठले बताउनुभयो ।

गाउँका स्थानीय बिरामी परेको बताएका श्रेष्ठले तत्कालका लागि गाउँपालिकासँग भएको जनशक्ति पठाइएको बताए ।

बिरामीको अवस्था अत्यन्तै कमजोर छ । केहीको अवस्था एम्बुलेन्समा बस्न सक्ने पनि छैन । संघीय सरकारका निकायहरूमा सम्पर्क गर्दा चीनबाट उक्त ठाउँमा मान्छे नगएकाले आत्तिन नहुने जवाफ बताउनुभयो । बुधबार बिहान एमबीबीएस डाक्टरलाई लगेर उक्त ठाउँमा जान लागेको  जानकारी दिएका छन् ।