जनता टाइम्स

२९ माघ २०७६, बुधबार १०:३८

एकदिवसीयमा नेपालको अर्को किर्तिमान, कम योगफलमा अमेरिकालाई समेट्यो


काठमाडौं, माघ २९

नेपालले विश्वक्रिकेटमा नयाँ किर्तिमान राखेको छ । अमेरिकालाई १२ ओभरमा ३५ रनमा अल आउट गर्दै सबैभन्दा कम स्कोरमा विपक्षी टिमलाई समेट्ने रेकर्डको बराबरी गरेको छ । यसअघि श्रीलंकाले सन् २००४ मा जिम्बावेलाई ३५ रनमा समेटिएको थियो ।

स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको हो । आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो ।

तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए । पहिलो ओभर करण केसीले मेडन खेलेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

सन्दीपले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चिए भने यसै श्रृखलामा डेब्यु गरेका सुशनले ३ ओभरमा एक मेडन राख्दै ५ रन दिएर ४ विकेट लिएका हुन् । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।