जनता टाइम्स

२९ माघ २०७६, बुधबार १३:१९

चोर पक्राउ परिसक्दा पनि घरधनीले घर फोडेको थाहा नपाएपछि…


काठमाडौं, माघ २९

प्रहरीले चोरलाई पक्राउ गरेर फोडेको घरमा लैजाँदा पनि घरधनीले आफ्नो घरमा चोर आएको थाहा पाएनन् । घटना माघ २६ गते को हो । चोरी कार्यमा संलग्न ५ जनालाई प्रहरीले त्यही दिन पक्राउ गर्यो । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्नहरुलाई कंलकीस्थित खाजा घरमा घर फुटाउने योजना बनाईरहेको अवस्थामा पक्राउ गरेको थियो । उनिहरुलाई घर फुटाउने औजार सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ गरेको पाँच जनासँग सोधपुछका क्रममा बलम्बुमा पनि चोरी गरेको बयान दिएका थिए। प्रहरी टोली उनीहरुको सूचना पच्छायाउँदै घरमा पुग्दा बाहिरबाट ताला मारेको थियो । छिमेकीसँग सोधपुछ गर्दा घरधनीहरु बिवाहमा गएको थाहा पाएपछि प्रहरीले फोन गर्छ ।

‘हामीले घरधनीलाई फोन गरेर बोलायौं,’ परिसरका डीएसपी होविन्द्र बोगटीले भन्नुभयो, ‘चोरहरुले पछाडीको ढोका फोडेर चोरी गरेका रहेछन्, पक्राउ नगरेको भए घटनाको जानकारी नै नहुने।’ परिसरका अनुसार २६ माघमा बलम्वुस्थित घरमा कोहि नभएको अवस्थामा घर फोडी नगद गर गहना सहित अन्दाजी रु ४ लाख बराबरको चोरी भएको हो।

प्रारम्भिक अनुसन्धानमा पक्राउ मध्ये ४ जना पहिला पनि विभिन्न चोरी मुद्दामा ५ वर्ष भन्दा वढी कारागारमा सजाय भुक्तान गरी केही महिना अघि मात्र छुटेकाहरु छन्। काठमाडौंका होटलमा बस्ने यो गिरोहले काठमाडौंका धेरै घरमा चोरी गरेको प्रहरीको आशंका छ। जेलमुक्त भएका उनीहरु बाहिर भेटेर गिरोह नै बनाएर चोरीमा स‌लग्न भएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ गरेका मकवानपुर ज्यामिरे घर भई हाल चाबहिल बस्ने वर्ष २९ का गणेश तामाङ्ग २०७६ असोज महिनामा चोरी मुद्दामा ४ वर्ष जेल भुक्तान गरी छुटेका हुन। यस्तै सिन्धुपाल्चोक ईन्द्रावती ४ घर भई हाल चाबहील बस्ने वर्ष २६ का कर्मा तामाङ्ग २०७६ भाद्र महिनामा चोरी मुद्दामा ५ वर्ष जेल भुक्तान र ६ लाख जरिवाना बुझाएर रिहा भएका हुन्। उनीसँगै सिन्धुपाल्चोकका कपिल नकर्मी समेत पक्राउ परेका हुन ।

पक्राउ पर्ने अन्य तीनमा सिन्धुली मरीन गापा ४ घर भई हाल चाबहिल बस्ने वर्ष २२ का मनोज माझी जो २०७० चैत्र महिनामा चोरी मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेका थिए । यस्तै सिन्धुपाल्चोक ईन्द्रावती घर भई हाल गोगंबु बस्ने वर्ष ३० का वेल वहादुर नकर्मी २०७१ वैशाख महिनामा चोरी मुद्दामा ५ वर्ष जेल भुक्तान गरी छुटेका थिए ।

प्रहरीले उनीहरुका साथबाट १४ हजार नगद, मोबाइल र घर फुटाउने औजार बरामद गरेको छ।