जनता टाइम्स

२९ माघ २०७६, बुधबार १५:२९

सिंहदरबारमा पासबिनै प्रवेशको ब्यवस्था मिलाउन सांसद शान्ता चौधरीको माग


काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि  सचेतक सांसद शान्ता चौधरीले हरेक नेपाली नागरिकले सिंहदरबारको अपनत्व लिन पाउनुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै सचेतकसमेत रहनुभएकी सांसद सो माग गर्नुभएको हो । चौधरीले सिंहदरबार प्रवेशका लागि अनिवार्य पास चाहिने नियमले आमजनताले सिंहदरबारप्रति अपनत्व राख्न नसकेको उहाँको भनाई छ । ‘सिंहदरबार प्रवेशमा अनिवार्य पासको व्यवस्था हटाउन म सरकारसमक्ष माग गर्दछु,’ सौसद चौधरीले भन्नुभयो । उहाँले संघीयता कार्यान्वयन भएपछि गाउँगाउँमा सिंहदरबार पुर्याउन सरकार पूर्ण रुपमा सफल नभएको उहाँको भनाई छ ।

‘जनस्तरका नागरिकले अझैं पनि काठमाडौंकै सिंहदरबार आउनुपर्ने बाध्यता छ । भित्रबाट पास मगाउने नियम हुँदा सबैले सहजै सेवा पाउन सकेका छैनन्,’ चौधरीले भन्नुभयो, ‘राष्ट्रिय परिचय पत्र हेरेर आवश्यक सुरक्षा जाँच गरेर नागरिकले सिंहदरबार प्रवेश पाउनुपर्छ ।’