जनता टाइम्स

२९ माघ २०७६, बुधबार २०:२४

नेकपा एमसीसी कार्यदल तोकिएको समयभित्र काम गर्न असक्षम, माग्यो अध्यक्षद्वयसँग थप १० दिनको समय


काठमाडौं, माघ २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको एमसीसी अध्ययन कार्यदल तोकिएको समयभित्र काम गर्न असक्ष मबनेको छ । तोकिएको समयभित्र काम सक्न नसकेपछि कार्यदलले सतप्रतिशत समय थप्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसँग माग गरेको छ ।

कार्यदलको १० दिने म्याद आज सकिएको छ । अमेरिकी सहयोग निगमसँग भएको एमसीसी सम्झौताबारे अध्ययन गर्न गठन गरिएको वरिष्ठ नेता झलनाथ खनाल संयोजक तथा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रदीपकुमार ज्ञवाली सदस्य रहेको कार्यदलले अध्ययन र प्रतिवेदन बुझाउनका थप १० दिनको समय माग्नुभएको हो । ‘एमसीसीसँग गरिएको सम्झौता र यससँग सम्बन्धित विषय बुझ्नका लागि थप समय चाहिएको र प्रतिवेदन तयार पार्नुपर्ने भएकाले १० दिन म्याद थप गरिदिन माग गरेका छौं,’ संयोजक खनालले भन्नुभयो । केन्द्रीय कमिटीले समय नै किटान गरेर प्रतिवेदन बुझाउन दिएको समयभित्र कार्यदलले कुनै ठोश प्रगति गर्न सकेको छैन ।

कार्यदलको पहिलो बैठक माघ २० गते बसेको थियो । उक्त बैठकले कुन कुन विषय अध्ययन गर्ने भन्नेबारेमा कार्यविधि तय गरेको थियो । नेकपाले एमसीसीसँग कुनै सैन्य मामिला जोडिएको छ कि छैन र नेपालको कानुनलाई कमजोर पार्ने तथा नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने बुँदा त्यो सम्झौतामा छन् कि छैनन् भनेर अध्ययन गर्न कार्यदल गठन गरेको थियो । यसबीचमा एमसीसी सम्झौताबारे कार्यदलले अमेरिकी पक्षसँग पनि छलफल गरेको थियो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेकपाका शीर्ष नेताहरूलाई भेट गर्नुभएको थियो । गत साता नेपाल भ्रमणमा आउनुभएका एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले पनि प्रधानमन्त्री केपी शर्मा ओली र संयोजक खनाललगायतका नेताहरुसँग भेटबार्ता गर्नुभएको थियो ।

नेकपाभित्र एमसीसी सम्झौतालाई लिएर केही नेताले बिवाद झिकेपछि कार्यदल गठन भएको हो । नेकपामा दुवै अध्यक्ष एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ । केही दिन अघि आयोजित एक सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू एमसीसिको बिपक्षमा नरहको भन्दै पारित गर्ने घोषणा गर्दै पार्टीभित्रका नेताहरुलाई बुझाउनका लागि मात्रै सो कार्यदल गठन गरेको बताउनु भएको थियो । समयमा काम नसकेपछि कार्यदलको बिषयमा दुई अध्यक्षले छलफल गरी आवश्यक निर्णय लिने बताइएको छ ।