जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार ०९:१८

अदालतले काट्यो ललिता निवासका आरोपीलाई पत्र


काठमाडौं, फागुन १ । विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा प्रतिवादीहरूलाई प्रतिवाद गर्न आउन धमाधम पत्र काट्न थालेको छ । विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काका अनुसार ललिता निवास भ्रष्टाचार काण्डका प्रतिवादीहरूलाई बुधबारदेखि पत्र काट्न थालिएको हो ।

पहिलो दिन सो भ्रष्टाचार काण्डका सात जनालाई पत्र काटिएको उपरजिस्ट्रार खड्काले जानकारी दिनुभयो । विशेष अदालतले पहिलो पत्र तत्कालीन मालपोत अधिकृत कलाधर देउजाको नाममा काटेको छ । देउजाको ठेगाना भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाङ–१० देउजागाँउमा पत्र पठाइएको हो । उहाँलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । यसैगरी दोस्रो पत्र भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक मुकुन्दप्रसाद आचार्यको नाममा काटिएको छ । यद्यपि उहाँको २०७२ सालमा नै मृत्यु भइसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख छ ।

उहाँको सम्पत्तिबाट बिगो उठाउने प्रयोजनका लागि अख्तियारले मुद्दा दायर गरेको हो । उहाँको घर काठमाडौं महानगरपालिका–५ मा रहेको थियो । देउजामाथि ७५ लाख १० हजार बिगो कायम गरिएको छ । यसैगरी बिशेष अदालतले काठमाडौं महानगरपालिका–२७ बस्ने सुरेन्द्रमान कपालीलाई पनि उपस्थित हुन पत्र काटेको छ । कपाली मालपोत अधिकृत हुँदा २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ । मालपोत विभागका तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतमलाई पनि अदालतले उपस्थित हुन म्याद दिएको छ । उहाँको पहिलेको घर इलाम जिल्ला इलाम नगरपालिका–३ भई हाल काठमाडौं महानगरपालिका–७ देखाइएको छ ।

गौतमले ७८ लाख २४ हजार २ सय रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ । काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिकाका जगत्‌प्रसाद पुडासैनीले भ्रष्टाचार गरेको भनिएको सम्पत्ति सरकारीकरण गर्ने प्रयोजनका लागि भनी उहाँको घर ठेगानामा पत्र काटिएको छ । गत वैशाख १९ गते दिवंगत भएका पुडासैनीलाई २ करोड २६ लाख ८५ हजार ५ सय रुपियाँको अभियोग लगाइएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको नाममा पनि अदालतले पत्र काटेको छ ।

श्रेष्ठको ठेगाना काठमाडौं महानगरपालिका–१६ भएको अभियोगपत्रमा उल्लेख गरिएको छ । उहाँमाथि २ करोड २९ लाख ५७ हजार ४ सय रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रकुमार श्रेष्ठको नाममा पनि अदालतले उपस्थित हुन पत्र काटेको छ । श्रेष्ठमाथि १३ करोड २३ लाख ७२ हजार रुपियाँ भ्रष्टाचार गरेको अभियोग छ । उहाँको ठेगाना ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१५ देखाइएको छ ।

विशेष अदालतका उपरजिष्ट्रार खड्काले काटिएका पत्रहरू सम्बन्धित जिल्ला अदालतमा पठाइएको र ती अदालतहरूले सम्बन्धित ठेगानामा गई तामेल गर्ने जानकारी दिनुभयो ।

ए ।