जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १३:२३

फोहोर संकलन गर्नेले गाडी लगेर ललितपुरबाट चोरे एक करोडको गहना


काठमाडौँ, फागुन १

ललितपुरको पुल्चोकबाट मंगलबजार जाने बाटोमा पर्ने श्रीबहालस्थित शाक्य ज्यास पस का मालिक सदा झै माघ २२ गते विहान उठेर पसल खोल्न गए । पसलको ढोका अगाडी पुग्दा उनको होसहवास उड्यो, जब ढोका खुल्लै देखे ।

पसलमा राखेको करिव एक करोड बढिको गरगहना चोरी भएको थियो । तत्काल उनले प्रहरीलाई फोन गरे । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट टोली घटनास्थल आएपछि सिसिटिभी फुटेज हेर्यो । माघ २१ मंगलबार राति करिब २ देखि ३ बजेका बीचमा चोरी भएको रहेछ । बिहानीपखको मिठो निद्रामा मस्त सुतेका घरबेटी तथा स्थानीयले काठको ढोका फोडेर पसल भित्र रहेको सेफ गाडीमा हालेर लुटेराहरु भाग्दा पनि कुनै चाल पाएनन् ।

लुटेराहरुले करोडभन्दा माथि कै लुटपाट गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखा पनि अनुसन्धानमा खटियो । प्रभाग र अपराध महाशाखाको टोलीले एक साताको अनुसन्धानपछि अन्तत सुनपसल लुटपाट काण्डमा संलग्नहरुको पहिचान गरी पक्राउ गर्न सफल भयो । प्रहरीको अनुसन्धानमा सबैभन्दा ठूलो सहयोगी सावित भयो पसलमा जडान गरिएको सीसीटिभी । लुटेराहरुले पसलमा प्रवेश गरेर सेफ निकाल्नु अघि कैद भएको जम्मा १५ सेकेण्डको फुटेजकै कारण प्रहरी उनीहरुको पहिचान गर्न सफल भयो ।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार लुटपाटमा भारतीयहरुको संलग्नता रहेको खुलेसँगै उनीहरुलाई काठमाडौंको कालिमाटी र सतुंगलमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुरज पोद्दार, चन्दन पोद्दार र रवी पोद्दार रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लगभग ११५ तोला सुन र करिब २५० तोला चाँदी र केही नगद पनि बरामद गरेको छ । डीएसपी तामाङका अनुसार बरामद भएका मध्ये ११२ तोला सुनको पीडितहरुले सनाखत गरिसकेका छन् ।
उहाका अनुसार पसल लुटपाटमा संलग्न सबै काठमाडौंमा फोहर तथा कवाडीका सामान संकलन गर्नेहरु रहेको खुलेको छ । प्रहरीले पक्राउ गरेका तीनैजना नजिका आफन्त रहेको पनि खुलेको छ ।

उनीहरुले फोहर संकलन गर्ने नाममा दिउँसो रेकी गर्ने र राति चोरी गर्ने देखिएको छ । लुटेराहरुले सेफलाई फोडेर त्यहाँ रहेको गरगहना र पैसा निकालेर सेफ भने सतुंगलमा रहेको बल्खु खोलामा फ्याँकेका थिए । प्रहरीले खोलाबाट सेफ पनि बरामद गरेको छ ।