जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १४:३०

नतिजा आउने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन


दमौली, फागुन १

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उहाँले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री लम्सालले भन्नुभयो, “काम गर्दा श्रद्धा गरेजस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा देखिनुपर्यो ।” बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने उहाँको भनाइ थियो । काम गर्ने सिलसिलामा कुनै ऐन, कानूनले रोकेको भए बाधा फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताउनुभयो । उहाँले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

तनहुँ र नवलपुरबाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्रालय मातहतका जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल हुने मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।