जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १७:३८

प्रेसलाई सञ्चारमन्त्री बाँस्कोटाको सुझाव : देशको प्रधानमन्त्रीको विरोध कम्तीमा तथ्यमा टेकेर गरौं


काठमाडौं, फागुन १ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले आफ्नो दुई वर्षे कार्यकालका क्रममा एउटै पनि नराम्रो काम नगरेको ठोकुवा गर्नुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘सरकारले बितेका दुई वर्षमा एउटा पनि नराम्रा काम गरेको छैन, जति गरियो, राम्रै राम्रो काम भएका छन,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘नराम्रा काम देख्ने चाहिँ नजर नराम्रो हो । राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु ।’ सरकारको दुई वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । ‘केही दिनमै प्रधानमन्त्रीले दुई वर्षे प्रगतिबारे सम्बोधन गर्नुहुन्छ, त्यसपछि सरकारका कामबारे प्रस्तुत विवरण लिएर तपाईंहरुले क्रसचेक गर्नुस, काम त हुँदै गर्छन, कतिपय कामहरुमा उल्झन् पनि आउँछ,’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले ओली नेतृत्वको सरकारका समयमा विधिको शासन बलियो भएको तथ्य पनि राख्नुभयो ।

‘देशमा विधिको शासन बलियो भएको छ । यो सरकारको दाबी मात्रै होइन, सत्य पनि हो,’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘रुल अफ ल’ को इन्डेक्समा नेपाल ५९ औँ स्थानमा पुगेको छ । प्रधानमन्त्री ओलीले यो विवरण मेरो हितमा यो जारी गरिदेऊ भनेको होइन । ‘सुखी नेपाली समृद्ध नेपाल’ले नतिजा देखाउँदैछ । जनताको जीवनस्तरमा सुधार हामीले सोचेजति भएको छैन तर १४९ बाट १४७ मा पुगेको छ ।’ मन्त्री बाँस्कोटाले ग्लोबल पिस इन्डेक्समा १२ बिन्दुले नेपालको पोजिसन सुधार भएको तथ्य राख्नुभयो । ‘बिजलपुरा–जयनगर रेल कुद्दैछ । ३ हजार ३ सय ३६ किलोमिटर सडक पिच भएको छ । तपाईंकै घर अगाडि सडक पिच भयो कि भएन भनेर त भएन नि’, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘पैसा कमाइसकेपछि जीवनस्तर फेरिन्छ । फोरजी ७७ जिल्लामा पुगिसक्यो ।’

उहाँले देशहरु रातारात नबन्ने बताउँदै पूर्वाधार विकासमा काम भइरहेको तथ्यांक पनि दिनुभयो । ‘प्रेसको आँखो तथ्यमा जाओस, प्रतिपक्षी आँखाबाट नहेरोस,’ मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘केपी ओली कसैको काका या बाउ नभए पनि विरोध गर्दा भयो । तर देशको प्रधानमन्त्रीको विरोध कम्तीमा तथ्यमा टेकेर गरौं,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाई थियो । सञ्चारमन्त्री बाँस्कोटाले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूगोल भावनामा बगेर मात्रै फिर्ता नहुने सरकारको निश्कर्ष पनि सुनाउनु भयो ।

‘सरकारले बितेका दुई वर्षमा एउटा पनि नराम्रा काम गरेको छैन, जति गरियो, राम्रै राम्रो काम भएका छन,’ सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, ‘नराम्रा काम देख्ने चाहिँ नजर नराम्रो हो । राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु ।’

‘कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबारे हामीले अडान र तथ्यहरु राखेका छौं, कालापानी र लिम्पियाधुरामा पेस्तोल भिरेर गएर हुँदैन । हामीले अन्तर्राष्ट्रिय सहयोग पनि परिचालित गरेका छौं,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले नेपालले आफ्नै स्याटेलाइट राख्न पनि समस्या देखिएको जानकारीसमेत दिनुभयो । ‘आकाशमा पनि कालापानी रहेछ । हामीले स्याटेलाइट राख्न खोज्दा एउटा देशले मुद्दा हाल्यो, आफ्नै स्याटेलाइटका लागि हामीले आफ्नो स्पेश लिइरहेका छौं,’ मन्त्री बाँस्कोटाले भन्नुभयो ।