जनता टाइम्स

२ फाल्गुन २०७६, शुक्रबार १४:५३

माधव नेपाल र बाबुराम भट्टराईलाई किन मुद्दा नचालएको भन्दै सर्वोच्चले माग्यो अख्तियारसँग जवाफ


काठमाडौं, फागुन २ । सर्वोच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा १५ दिनभित्र जवाफ पेश गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले लिखित जवाफ मागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले १५ दिनभित्र कारणसहित लिखित जवाफ पेश गर्न अख्तियारलाई भनेको छ । साथै मुद्दाको गाम्भीर्यता हेर्दा छिटो निर्णय गर्नु पर्ने भएकाले रिटलाई अग्राधिकार दिन पनि अदालतले भनेको छ ।

‘यसमा के भएको हो ? निवेदकको मा बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानून बामोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र अन्य बिपक्षीहरुबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हकमा महान्यायाधिबक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि यसैसाथ राखी बिपक्षीको नाममा सूचना म्याद जारी गर्नु,’ आदेशमा भनिएको छ ।