जनता टाइम्स

३ फाल्गुन २०७६, शनिबार ०७:४१

वुहानबाट १८५ नेपालीलाई आज मध्यरातमा काठमाडौं ल्याइँदै, लिन जाने पाइलटको नाम गोप्य


काठमाडौं, फागुन ३ । कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले कोरोनाप्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन आज शनिवार दिउँसो पौने ३ बजे विमान चीनको वुहान प्रस्थान गर्ने बताउनुभयो । विमानमा चालक दलका ३ सदस्य, ६ जना क्रुज मेम्बर र ४ जना चिकित्सक रहने र उनीहरूको पहिचान गोप्य राखिएको छ ।

चीनस्थित नेपाली दूतावाससँगको समन्वयमा त्यहाँ रहेका नेपालीलाई लिएर विमान तत्काल काठमाडौं प्रस्थान गर्ने गरिने प्रवक्ता खड्काले बताउनुभयो । विमान भोली बिहान सवा २ बजे काठमाडौं अवतरण गर्नेछ । विमानस्थलमा उत्रिएपछि उनीहरूलाई बसमा राखेर सिधै खरिपाटी लगिनेछ ।