जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार १६:४९

ललिता निवास प्रकरण : सिआइबीमा गच्छदारसहित १७२ जनाविरुद्ध ठगी मुद्दा दर्ता


काठमाडौं, फागुन ४

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।

आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ ।

केहीदिन अघि उक्त प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसिचवसहित १७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।

ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।