जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०७:१०

अदालत परिसरमा महराले ठट्टा गरेपछि……


काठमाडौं, फागुन ५ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आइतवार जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ चलिरहेको थियो ।

दुवै पक्षका वकिलहरूको बहस सकिएपछि पर्खाइ फैसलाको थियो । महरा पनि फैसला कुर्दै इजलाशबाहिर केही कानून व्यवसायी र पत्रकारहरूसँग अनौपचारिक कुराकानीमा व्यस्त हुनुभएको थियो । कुराकानीको विचमा एक जनो भन्नुभयो ‘अब त छुट्ने बेला भयो होला नि ?’

हँसिलो मुद्रामा महराले जवाफ फर्काए– ‘नछुटे पनि के भयो र ? डिल्लीबजार कारागार ३ महिने घर भइसक्यो । आज ३ महिना १७ दिन भयो ।’

कालो ज्याकेट र ढाका टोपीमा उपस्थित भएका महराले अदालत परिसरमा खुलेर कुराकानी गर्नुभएको थियो । आइतवार महराको पक्षबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, डा। भीमार्जुन आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा र डा‍। दीनमणि पोखरेलले बहस गरे ।

न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा सुनुवाइ भएको महराको मुद्दामा बहस सकिएपनि आइतवार फैसला सुनाउन नभ्याउने भनेपछि महरालाई डिल्लीबजार कारागार फर्काइएको छ । प्रहरीले संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरेको थियो । महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो ।