जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार ०८:३७

काठमाडौंबाट विद्युतका तार हटाइदै, भुमिगत गर्ने कार्यको प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौं, फागुन ५

काठमाडौंको सडकमा देखिने विद्युतका तारहरु अब भूमिगत गरिने भएको छ । राजधानीको सौन्दर्यलाई थप आकर्षक बनाउन नेपाल विद्युत प्राधिकरणले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्ने भएको हो ।

प्रधामन्त्री केपी शर्मा ओलीले आज सो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीको तार जमिनभित्र (अन्डरग्राउन्ड) गरिने प्राधिकरणले जानकारी दिएको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नुपर्ने छैन भने यसले राजधानीको सौन्दर्य थप झल्किने विश्वास लिइएको छ ।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीको तार भूमिगत गर्न लागिएको हो । प्राधिकरणले बिजुली वितरण भूमिगत गर्न सडक विभागबाट स्वीकृति लिएपछि यो कामको शुरु गर्न लागेको छ ।अन्डरग्राउन्डको काम आजै बाट शुरु हुने विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताबताउनु भयो । अत्याधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुली तार जमिनमुनी राखिने छ । यसका लागि सडक यत्रतत्र खन्नुपर्ने छैन ।

तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ । रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको प्राधिकरणले जनाएको छ । विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन् ।

विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न सर्भे भइसकेको छ । प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई वर्षभित्र अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । विद्युत वितरण प्रणालीलाई पहिलोपटक भूमिगत गर्न लागिएको हो । यो सफल भएपछि अन्य सहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने प्राधिकरणको तयारी छ ।