जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १०:०८

खरिपाटी लाइभ : यसरी आतंक फैलाउँदैछन यूटुवर


भक्तपुर, फागुन ६

चाँगुनारायण नगरपालिका–७ खरिपाटीका स्थानीयले सञ्चारकर्मीले गर्ने प्रश्नले आफूहरूलाई घरमा बस्नै गाह्रो भइसकेको गुनासो गरेका छन् । सञ्चारकर्मीहरूको प्रश्नले तनाव भएको सुनाउँदै उनीहरूले भने, ‘अब तपाईंहरूलाई गाली गर्ने बेला आएको छ । एकदम धेरै भइसक्यो । सहनुको पनि सीमा हुन्छ नि ?’

यहाँका स्थानीय अहिले सञ्चारकर्मीदेखि आक्रोशित हुन थालेका छन् । अब त सञ्चारकर्मीले प्रश्न सोध्दा नै झनक्क रिस उठ्ने गरेको स्थानीय महिला बताउँछन् । युट्युब अनलाइनका पत्रकारले आफूहरूलाई वाहियात प्रश्न गर्ने गरेको उनीहरूको गुनासो थियो । ‘प्रश्न सोध्ने नै कस्तो, रोग लागेका मान्छेलाई ल्याएर राखिएको छ, के तपाईहरूलाई पनि संक्रमण हुन्छ कि ?’, ती महिलाले भने, ‘यस्तो पनि प्रश्न हुन्छ ? वाहियात प्रश्न ?’

घरमा ताल्चा लगाएर खेतबारीमा जाँदासमेत कोरोना भाइरसको संक्रमण हुने त्रासले खरिपाटीका स्थानीयले घर छाडे, बसाइँ सरे भन्दा आफूहरूलाई सह्य नभएको भन्दै अर्का स्थानीय पद्मबहादुर महाजूले आक्रोश पोखे । उनले आफ्नो घरपरिवारका कुनै पनि सदस्यले घर नछाडेको जानकारी दिए । ‘दिउँसो घरमा ताल्चा लाग्दैमा घर छाडेर भागेको हुन्छ ?, उनले प्रतिप्रश्न गरे, ‘दिउँसो हामी काम परेर कतै जान हुँदैन ? खेतबारी पनि जान नपाउने, भोजमा जान नपाउने ?’

सरकारले कोरोना भाइरस संक्रमित नल्याएको र चीनबाट पनि स्वस्थ मान्छे मात्रै पठाएको देखिसकेपछि संक्रमण हुन्छ भनी डराउनुपर्ने कुनै कारण नभएको महाजू बताउँछन् । उनले सञ्चारमाध्यममा आएजस्तो खरिपाटीका सयौं घरपरिवारले घर नछाडेको स्पष्ट पारे ।

त्यस्तै, एक अर्की स्थानीय महिलाले आफूहरू मरे पनि खरिपाटीमै मर्ने तर घर नछाड्ने सुनाइन् । भूकम्पमा समेत घर नछाडेका आफूलाई अहिले स्वस्थ मान्छे ल्याएको बेला घर छाड्नुपर्ने कुनै कारण नभएको उनको भनाइ थियो । (अन्नपूर्ण पोष्ट)