जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १०:२७

रोशनी शाहीको त्यो बयानले पाए महराले सफाइ


काठमाडौं, फागुन ६ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । बलात्कारको गम्भीर आरोप लगाएर सभामुखको कुर्सीबाट सिधै प्रहरी हिरासत हुँदै कारागारसम्म पुर्याएकी पीडित शाहीले नै घटना भएको भनिएको दिन तात्कालिन सभामुख महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई मानेर महरालाई सफाइ दिएको छ । अभियुक्त भनिएका महराले पनि उक्त दिन आफू रोशनी शाहीको तीनकुनेस्थित कोठामा नगएको बयान दिनुभएको थियो ।

‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ,’ जिल्ला अदालत काठमाडौंले सोमवार गरेको फैसलामा भनिएको छ । यसअघि अदालतले घटनास्थलको मुचुल्काको आधारमा शाहीको बयानलाई अस्वीकार गर्दै महरालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । अदालतको आदेशअनुसार महरा १ सय ३ दिन डिल्लीबजार कारागारमा रहनुभएको थियो । अदालतबाट सफाइ पाएलगत्तै महरा सोमवार नै डिल्लीबजारस्थित कारागारबाट मुक्त हुनुभयो ।

गत असोज १२ गते राति तात्कालिन महरा रक्सी सेवन गरी कोठामा आएको र बलात्कार प्रयास गरेको भन्दै रोशनीले भिडियोमा कवुल गर्नुभएको थियो । उक्त भिडिओमा आफूमाथि महराले बलात्कार प्रयास गरेको र नमान्दा कुटपिट गरेको शाहीले बयान थियो । सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अभियोगपत्रमा सबभन्दा बलियो प्रमाण घटनाकै रात शाहीको कोठामा पुगेर प्रहरीले लिएको भिडिओ रेकर्डलाई देखाइएको थियो । ‘प्रहरीलाई भनिदिन्छु’ भनेपछि महरा हतारहतार निस्किएको शाहीले भोलिपल्ट (गत असोज १३ गते) पत्रकार अजयबाबु सिवाकोटीसँगको भिडिओ अन्तर्वार्तामा पनि बताउनुभएको थियो ।

त्यसरी हतारहतार महरा निस्किँदा कोठामै छुटेका जुत्ताको तलुवा, फुटेको चस्माको एउटा सिसा र भाँचिएको चस्माको खुट्टा प्रहरीले बरामद गरेको थियो । उक्त सिसाको पावर र महराले लगाएको चस्माको पावर एउटै भएको जाँचबाट देखिएको थियो । यो महरा विरूद्धको दोस्रो ठूलो प्रमाणका रूपमा हेरिएको थियो। यस्तै महराका अंगरक्षकले पनि आफूहरू बाहिर बसेको र महरा रोशनीको कोठाभित्र गएको लिखित बयान प्रहरीलाई दिएका थिए । उक्त लिखित कागज पनि प्रहरीले अदालतमा प्रमाणको रूपमा प्रस्तुत गरेको थियो । यी तीन ओटै प्रमाणलाई आधार मान्दै पाटन उच्च अदालतले पनि महराले आफूलाई थुनामुक्त गरिपाउँ भन्दै दिनुभएको निवेदन खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई मुद्दाको अन्तिम फैसला नहुञ्जेल थुनामै राख्न दिएको आदेशविरूद्ध महराले उच्च अदालत पाटनमा निवेदन दिनुभएको थियो ।

पीडित भनिएकी महिला नै अदालतमै पुगेर महराको बचाउ गरेपछि अदालतले सोही आधारमा महरालाई सफाई दिएको हो । सफाइ पाएसँगै महराको सांसद पद जोगिएको छ

महराले आफूमाथि बलात्कार प्रयास गरेको र कुटपिट गरेको भन्दै रोशनीले प्रहरीमा उजुरी दिएपछि उहाँलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो । उक्त रिपोर्टले रोशनीमाथि कुटपिट भएको पुष्टि गरेपनि अदालत गएर भने रोशनीले आफ्नो कोठामा महरा नआएको लिखित बयान दिनुभएको थियो । पीडित भनिएकी महिला नै अदालतमै पुगेर महराको बचाउ गरेपछि अदालतले सोही आधारमा महरालाई सफाई दिएको हो । सफाइ पाएसँगै महराको सांसद पद जोगिएको छ ।