जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १२:५४

भौतिक पूर्वाधारमन्त्री बशन्त नेम्वाङको तीन महिना : परिणामबाटै आशामा परिणत भयो निराशा


काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुई वर्षसम्म पनि भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा खास सुधार नभएपछि गत मंसिरको पहिलो साता मन्त्रालयको नेतृत्व परिवर्तन गर्नुभयो । प्रधानमन्त्री ओलीले कामबाट परिणाम ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हटाएर कहिल्यै अवसर नपाएका वसन्त नेम्वाङलाई सो मन्त्रालयको जिम्मा दिनुभयो । नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हालेको ३ महिना पूरा भएको छ ।

लामो समयसम्म सो मन्त्रालयले गरेको कामबाट जनता आक्रोशित बनिरहेको बेला मन्त्रालयको नेतृत्व लिनुभएका नेम्वाङले तीन महिनामा ती आक्रोशलाई सान्त पार्न सफल हुनुभएको छ । जिम्मेवारी लिएको छोटो समयमा नेम्वाङले अघि बढाएको काम र उपत्यकाको सडकमा देखिएको सुधारले आम नागरिकमा आशाको सञ्चार गरेको छ । काम बढी, प्रचार कम भन्ने मान्यताका साथ उहाँले थालेको अभियानबाट आक्रोशित उपत्यकाबासी सरकारप्रति ठुलै आशा गर्ने अवस्थामा पुगेका छन । ‘सरकारमा आउने मन्त्रीहरु कुरा बढी गर्छन, काम गर्दै गर्दैनन भन्ने निश्कर्षमा पुगेका थियौं उपत्यकाको सडकको दुरावस्था देखेर । अहिले त्यो निरासापन हटेको छ, सडकमा नयाँ मन्त्रीले देखाएको जादुगरी कामले सरकारले काम गर्छ भन्ने दह्रो आत्मबिश्वास पैदा गरेको छ,’ काठमाडौंको नयाँ बानेश्वर चोकमा भेटिएका एक सवारी चालकले जनताटाइम्ससँग भने ।

उनी जस्तै फरक अनुभुति गर्ने अन्य थुप्रै सवारी चालक रहेका छन । ‘काठमाडौं धुलो र हिलोमुक्त हुन्छ र ? भन्ने लाग्थ्यो, सडकमा देखिएको यो सुधारपछि हुन्छ, सरकारले गर्छ भन्ने अनुभुति भयो,’ अर्का सवारी चालकले आफ्नो निश्कर्ष सुनाए । उनीहरु यो निश्कर्षमा पुग्नुको एउटै कारण थियो, पछिल्लो समय उपत्यकाका सडकमा देखिएको सुधार । कामबाटै परिणाम दिएको कारण यतिबेला सडकमा हिडने पैदलयात्रीदेखि सवारी चालकसम्मलाई भौतिक पूर्वाधारमन्त्री नेम्वाङको नाम कन्ठै भएको छ । त्यही कारण अहिले सामाजिक सञ्जालमा मन्त्री नेम्वाङलाई राम्रा प्रयासहरु थालेको भन्दै प्रशंसा हुन थालेको छ ।

मन्त्री नेम्वाङले काठमाडौंका सडकको तीव्र मर्मतकार्य अघि बढाएर परिणाम दिलाएपछि यस्तो टिप्पणी भएको हो । यस अवधीमा राजधानीका सडकहरुमा व्यापकरुपमा खाल्डाखुल्डी पुरिएको छ । धूलोधूवाँ पनि निकै कम भएको छ । धेरै वर्षदेखि काम नगरेका सडकका ट्राफिक लाइटहरु बल्न थालेका छन । एक वर्षदेखि स्मार्ट लाइसेन्स नपाएकाहरुलाई केही वितरण गरिएको छ । विगतभन्दा केही आशावादी काम भएपछि मन्त्री नेम्वाङलाई हल्ला कम, काम बढी गर्ने मन्त्रीको रुपमा चित्रित पनि गर्न थालेका छन । ‘भासन सुनिएन, काम देखियो, यस्तै हुनुपर्छ हाम्रा मन्त्रीहरु,’ माइतीघर मण्डलामा भेटिएका अर्का सवारी चालकले मन्त्री नेम्वाङको कामको प्रसंशा गर्दै भने ।

त्यसो त मन्त्री नेम्वाङले मन्त्रालयभित्र पनि आमुल सुधार गर्नुभएको छ । सवै कर्मचारी अघिल्लो मन्त्रीको पालामा भन्दा सहज रुपमा काम गर्न पाएको भन्दै उहाँको योजनामा सघाइरहेका छन । कर्मचारीहरुका अनुसार मन्त्री नेम्वाङले पारदर्शीरुपमा काम गर्न खोज्नुभएको छ । ‘भ्रष्टाचार रोक्ने कुरामा उहाँको योगदान होला जस्तो लाग्छ। निकै जिम्मेवाररुपमा काम गरिरहेको देखिन्छ,’ जनताटाइम्ससँग एक कर्मचारीले भने । मन्त्रालयबीच समन्वय प्रभावकारी भएकोले भौतिक पूर्वाधारका क्षेत्रमा पनि निकै काम अघि बढेका छन ।

पूर्वअर्थसचिव रामेश्वर खनालले त लगातार रुपमा कामका आधारमा मन्त्री नेम्वाङ नै अब्बल रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । ‘हृदयेश त्रिपाठी भौतिक पूर्वाधारमन्त्री भएपछि त्यसयता सबैभन्दा राम्रोसँग अहिलेका मन्त्री वसन्त नेम्वाङले काम गरेको पाएको छु । बीचमा आएका कुनै पनि मन्त्रीले राम्रो काम गर्न सकेनन,’ पूर्वसचिव खनालको निश्कर्ष छ । त्यसो छ मन्त्री नेम्वाङले सेवा र पूर्वाधार निर्माण दुवै पक्षमा सुधार गर्दै अघि बढेको तथ्यांकले देखाउँछ । ‘काठमाडौंमा सडक पुर्ने काम मात्रै होइन । बाहिरका सडकमा पनि अहिले राम्रो प्रगति भएको देखेको छु । हालसालै म इलामदेखि बुटवलसम्म घुमें, पहिला रोकिएका काम अहिले सबै सुरु भएका छन । उहाँको ३ महिनाको कार्यकाललाई मैले शुभसंकेतको रुपमा देख्छु,’ पूर्वसचिव खनालले भन्नुभयो ।

सरकारमा आउने मन्त्रीहरु कुरा बढी गर्छन, काम गर्दै गर्दैनन भन्ने निश्कर्षमा पुगेका थियौं उपत्यकाको सडकको दुरावस्था देखेर । अहिले त्यो निरासापन हटेको छ, सडकमा नयाँ मन्त्रीले देखाएको जादुगरी कामले सरकारले काम गर्छ भन्ने दह्रो आत्मबिश्वास पैदा गरेको छ

खनालले यसअघि नै मन्त्री नेम्वाङको कामको मुल्यांकन गर्दै यति योग्य नेता हुँदाहुँदै अयोग्यलाई भौतिक पूर्वाधार मन्त्रालयमा राखेर सरकारले लामो समय खेर फालेको टिप्पणी गर्नुभएको थियो । निर्माण ब्यवसायीहरु पनि उहाँको कामले आशा जगाएको बताउँछन । सवैको कुरा सुनेर समस्या समाधान गर्ने प्रयास मन्त्री नेम्वाङले गरेको उनीहरुको भनाई छ । ‘निर्माण क्षेत्र सकारात्मक दिशामा जान लागेको अनुभूति गरेका छौं । व्यवसायीहरुलाई पनि सँगै लैजानुपर्छ भनेर उहाँले हाम्रो कुरा सुन्नुभएको छ, जसले गर्दा भौतिक निर्माणका काममा प्रगति देखिन थालेको छ,’ नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंह भन्नुहुन्छ ।