जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०७:२३

प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्न प्रेरणा मिलोस् : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना


काठमाडौं, फागुन ७ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्वसँगै अब आर्थिक विकासको गतिलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । ७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्रका मूलभूत मान्यता कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकार, मौलिक अधिकार, बालिग मताधिकारजस्ता विशेषताको प्रवद्र्धन एवं विकास गर्दै जानुको विकल्प नभएकामा जोड दिँदै उहाँले सबै प्रकारका विभेद तथा छुवाछूतको अन्त्य गरी मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु अपरिहार्य रहेको बताउनुभएको छ ।

सन्देशमा अध्यक्ष तिमिल्सिनाले १०४ वर्षे जहाँनिया निरंकुश राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । उहाँले आजको दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । “सम्पूर्ण नेपालीले प्रजातन्त्रको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्दै प्रजातन्त्रलाई जनमुखी एवं समावेशी गराउन सबैले आआफ्नो ठाउँबाट योगदान गर्न आह्वान गर्दछु”, सन्देशमा भनिएको छ ।